नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले प्रदान गर्दै आएको स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार पङ्कज श्रेष्ठलाई प्रदान गरिएको छ ।
मङ्गलवार आयोजित विशेष कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षत्रीले पत्रकार श्रेष्ठलाई ५१ हजार रुपैयाँ राशिको पुरस्कार हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मन्त्री क्षत्रीले पत्रकारिता क्षेत्रमा सुधारको आवश्यकता औँल्याउँदै पर्सा जिल्लाको कृषिमा प्रयोग हुने उपकरणहरूको स्थिति र पत्रकारिताको प्रगति सन्दर्भमा आफ्ना अनुभवहरू साझा गरेका थिए ।
शाखा अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा स्व. गोपाल गिरीका छोरा गिरीश गिरी, महासङ्घका सचिव अशोक तिवारी, पूर्वसचिव दीपेन्द्र चौहान, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, सप्रउ राधेश्याम धिमाल लगायतको सहभागिता थियो ।
स्व. गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार २०६२ सालदेखि स्व. गिरीको पुण्यतिथिको अवसर पारेर प्रदान गरिँदै आएको छ । आरम्भमा १० हजार राशिको यो पुरस्कार शाखाका अध्यक्ष ओमप्रकाश खनाल र केसी लामिछानेलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।
हालसम्म यस पुरस्कारबाट शाखाका पूर्वअध्यक्ष शत्रुघ्न नेपाल, श्याम बन्जारा, कन्हैयालाल केशरी, गया यादव, विजय भण्डारी, महेश गौतम, बृजलाल पासवान र प्रताप श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।