वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरमा हनुमान मन्दिर निर्माण कार्य सम्पन्न भई विधिवत् रूपमा प्राण प्रतिष्ठा गरिएको छ ।
तत्कालीन मधेश प्रदेशका पर्यटन मन्त्री तथा हालका प्रदेशसभा सदस्य रहबर अन्सारीको पहलमा मन्दिर निर्माण गरिएको हो । हनुमान मन्दिरकाे उद्घाटन उनै प्रदेश सभा सदस्य रहबर अन्सारीले गरेर समाजमा समुदायगत एकताकाे नमुना पेश गरेका छन् । अन्सारीले हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थाको प्रतीक हनुमान मन्दिर निर्माण र उद्घाटन गरेर धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका हुन् ।
मुस्लिम समुदायका भएर पनि हिन्दु धर्मावलम्बीहरूको इच्छालाई सम्बोधन गर्दै मन्दिर निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई नयाँ उचाइमा पुर्याएको छ । शुक्रबार विशेष धार्मिक अनुष्ठानका साथ मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा स्थानीय समुदायको ठूलो सहभागिता रहेको थियो । दुई दिनसम्म चलेको धार्मिक अनुष्ठानले शान्ति, सहिष्णुता, र एकताको सन्देश दिएको छ।
प्रदेश सभा सदस्य रहबर अन्सारीले मधेश प्रदेशको पर्यटन मन्त्रालयमा कार्यरत रहँदा भवानीपुरका स्थानीयहरूको चाहनालाई सम्बोधन गर्दै मन्दिर निर्माणको पहल गरेका थिए । उनका अनुसार मन्दिर निर्माणले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउँदै भाइचारा र एकताको प्रतीकको रूपमा भूमिका खेल्नेछ । “समुदायबीच भाइचारा र एकताको भावना बलियो बनाउन सबै धर्मको सम्मान गर्न जरुरी छ । यो मन्दिर निर्माण त्यसैको एउटा सानो प्रयास हो,” अन्सारीले भने।
कार्यक्रममा स्थानीयवासीले सहकार्य र योगदानमार्फत मन्दिर निर्माण सफल भएको हाे । “यस मन्दिरले धार्मिक विविधता र सहिष्णुताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । हामी सबैले यसलाई शान्ति र मेलमिलापको केन्द्रका रूपमा विकास गर्नुपर्छ,” अन्सारीले समाजिक सञ्जालमा लेख्दै भनेका छन् ।
धार्मिक गतिविधिसँगै सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने यो प्रयासले क्षेत्रीय पर्यटनलाई पनि थप ऊर्जा दिने अपेक्षा गरिएको छ ।