भारतमा आयोजित महाकुम्भ मेला विश्वकै सबैभन्दा ठूलो धार्मिक उत्सवका रूपमा परिचित छ । हिन्दु धर्मावलम्बीहरूको लागि पवित्र मानिने यो मेला लागेको छ ।
उत्तर प्रदेशको प्रयागराजमा आयोजना भएकाे महाकुम्भ मेलाको लागि भारतीय सरकारले व्यापक तयारी गरेको छ । साेही अनुसार नदी किनारामा हजारौं साधु–सन्त, तीर्थालु र पर्यटकहरूको आगमन भइरहेको छ।
महाकुम्भ मेलाको ऐतिहासिक पृष्ठभूमि
महाकुम्भ मेला प्रत्येक १२ वर्षमा एक पटक चार पवित्र नदी तटहरूमध्ये प्रयागराज, हरिद्वार, उज्जैन, र नासिकमा आयोजना गरिन्छ । धार्मिक मान्यताअनुसार, देव–असुरको समुन्द्र मन्थनपछि प्राप्त अमृतको थोपा यी चार स्थानमा खसेको विश्वास गरिन्छ ।
महाकुम्भ मेलाका अवसरमा गङ्गा, यमुना, र सरस्वती नदीको संगममा स्नान गर्नु पापबाट मुक्ति र मोक्ष प्राप्तिको प्रतीक मानिन्छ ।
भारत सरकारले महाकुम्भ मेलाको लागि प्रयागराजमा हजारौं टेन्ट, अस्थायी आवास, भौतिक संरचना, र मोबाइल अस्पताल बनाएकाे छ । सुरक्षाका लागि लाखौं प्रहरी, अर्धसैनिक बल, र स्वयम्सेवक परिचालन गरेकाे छ । त्यस्तै ड्रोनमार्फत भीडको निगरानी र आपतकालीन उद्धारको तयारी पनि गरेको छ ।
अर्थतन्त्र र पर्यटनमा प्रभाव
महाकुम्भ मेला न केवल धार्मिक दृष्टिकोणले महत्वपूर्ण छ, बल्कि यसले भारतको पर्यटन र स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँछ । करोडौं तीर्थालु र पर्यटकको आगमनले होटल, यातायात, तथा स्थानीय व्यवसायलाई फाइदा पुर्याउँछ ।
वैश्विक आकर्षणको केन्द्र
महाकुम्भ मेला मात्र भारतकै लागि नभई विश्वभरका धार्मिक आस्थावान र जिज्ञासुहरूको लागि पनि आकर्षणको केन्द्र बन्दै गएको छ । संयुक्त राष्ट्रसंघले पनि महाकुम्भ मेलालाई विश्वको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिसकेको छ ।
महाकुम्भ मेलाले धार्मिक, सांस्कृतिक, र सामाजिक रूपान्तरणका साथै एकता, सहिष्णुता, र आध्यात्मिकताको सन्देश प्रवाह गर्ने विश्वास गरिन्छ ।