इजरायली सरकारले गाजासँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार घोषणा गरेअनुसार, मन्त्रिपरिषद्ले बन्धक मुक्त गर्ने योजना र युद्धविराम सम्झौता पारित गरेको छ ।
७३७ कैदीको रिहाइ
यो सम्झौताले आइतबारदेखि गाजामा जारी लडाई र बमबारीलाई अन्त्य गर्नेछ । सम्झौताअनुसार, हमासले कब्जामा लिएका बन्धकहरूको बदलामा इजरायली जेलमा रहेका सयौं प्यालेस्टिनी कैदीलाई रिहा गरिनेछ ।
इजरायलको न्याय मन्त्रालयले पहिलो चरणमा ७३७ जना प्यालेस्टिनी कैदीलाई रिहा गरिने बताएको छ । नेतन्याहुको कार्यालयले यो सम्झौताले बन्धकहरूलाई स्वदेश फर्काउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेको छ ।
अमेरिकी भूमिका र राजनीतिक प्रभाव
यो सम्झौतामा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले मुख्य भूमिका खेलेको छ । डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो सम्झौता लागू हुन लागेका कारण यसले आगामी अमेरिकी नेतृत्वलाई समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजाको पुनर्निर्माण र व्यवस्थापनको जिम्मेवारी लिन आफ्नो सरकार तयार रहेको बताएका छन् । विस्थापित गाजावासी घर फर्कने तयारी गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
यद्यपि युद्धविराम घोषणा भए पनि इजरायली सेनाले गाजाका विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको छ । विगत २४ घण्टामा सेनाले ५० भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको जनाएको छ ।
यो युद्धविरामले गाजाको दशकीय हिंसा र विनाशलाई अन्त्य गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।