भारत सरकारले सोयाबिन तेलको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि नेपालबाट भारततर्फ सोयाबिन तेलको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ ।
डेढ वर्षअघि भारतको लोकसभा निर्वाचनका बेला भारत सरकार अन्तर्गतको व्यापार निर्देशनालयले नेपालबाट भारत निर्यात हुँदै आएको सोयाबिन तेलमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका १५ वटा तेल उद्योगहरूको निर्यात ठप्प भएको थियो ।
तर, दुई महिनाअघि भारत सरकारले सोयाबिन तेलको आयात प्रतिबन्ध फुकुवा गरेपछि अहिले दुई सातायता नेपालबाट दैनिक औसतमा पाँच ट्रक (झण्डै १०० टन) तेल भारत निर्यात भइरहेको व्यापारीहरूले जनाएका छन् ।
वीरगंज–पथलैया औद्योगिक कोरिडोरका प्रमुख उद्योग सक्रिय
वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा निम्बस, नारायणी रिफाइनरी, अन्नपूर्ण भेजिटेबल, महालक्ष्मी सोलमेट, गणपति, शिवशक्ति, र ओसिबी फूड्स एन्ड फिडजस्ता १५ वटा तेल उद्योग क्रियाशील छन् । यी उद्योगहरूले विदेशबाट कच्चा सोयाबिन तेल आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन् ।
प्रतिबन्धका कारण यी उद्योगहरूको उत्पादन ठप्प हुँदा ठूलो आर्थिक क्षति भएको थियो । तर, प्रतिबन्ध फुकुवा भएपछि तेल निर्यात पुनः सञ्चालनमा आएको र यसले औद्योगिक क्षेत्रलाई नयाँ उर्जा प्रदान गरेको उद्योगीहरूको विश्वास छ ।