काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अनुसार सरकारले तिर्न बाँकी सार्वजनिक ऋण रू २५ खर्ब ३६ अर्ब नाघेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित पुस मसान्तसम्मको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुवातमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थपिँदै कूल ऋण रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । यो कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत बराबर हो,” प्रतिवेदनमा उल्लेख छ ।
कूल ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात् रू १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख छ। कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत छ । त्यस्तै, आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ प्रतिशत अर्थात् रू १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख छ। कूल गार्हस्थ्य उत्पादनमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६४ प्रतिशत छ ।
सरकारले चालु आर्थिक वर्षमा रू पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा पुस मसान्तसम्ममा रू दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको ४३ दशमलव ८९ प्रतिशत हो ।
आन्तरिक ऋण उठाउने लक्ष्य रू तीन खर्ब ३० अर्ब रहेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब ८१ अर्ब पाँच करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ । बाह्य ऋणतर्फ वार्षिक लक्ष्य रू दुई खर्ब १७ अर्ब मध्ये रू ५९ अर्ब तीन करोड अर्थात् २७ दशमलव २० प्रतिशत मात्र प्राप्त भएको छ ।
सार्वजनिक ऋणको साँवा ब्याज तिर्न सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ। यो वार्षिक बजेटको ४५ दशमलव २८ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनको आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।