पर्सा जिल्लामा यही माघ २२ गतेदेखि सुरु हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्य कार्यालय पर्साले शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालालाई अभियानबारे जानकारी गराएको हो ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण सिंहका अनुसार माघ २२ देखि फागुन ६ गतेसम्म जिल्लाका १४ पालिकामा ३८ हजार ५५७ जना बालिका तथा किशोरीलाई खोप लगाइने छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा तथा विद्यालय नजान्ने १० देखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप दिने योजना रहेको उनले जानकारी दिए ।
दुई चरणमा सञ्चालन हुने अभियान
कार्यालयका अनुसार खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ । यस चरणमा वीरगञ्ज महानगरपालिका–१ देखि १६ वडासम्म, पर्सागढी र पोखरिया नगरपालिका तथा पटेर्वा सुगौली, जिराभवानी, सखुवा प्रसौनी र जगरनाथपुर गाउँपालिकाका लक्षित बालिका र किशोरीलाई खोप लगाइने छ ।
दोस्रो चरण माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । यस चरणमा वीरगञ्ज महानगरपालिका–१७ देखि ३२ वडासम्म, बहुदरमाई नगरपालिका, पकाहा मैनपुर, कालिकामाई, धोबिनी, बिन्दवासिनी, छिपहरमाई र ठोरी गाउँपालिकाका लक्षित उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने छ ।
३४५ खोप केन्द्र र ६९० स्वास्थ्यकर्मी परिचालन
अभियान अन्तर्गत जिल्लाका १४ पालिकाका ११२ वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ३४५ खोप केन्द्र स्थापना गरिनेछ । अभियान सफल बनाउन ६९० भन्दा बढी स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी गराए ।
अभियानलाई सफल बनाउन आग्रह
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले स्वास्थ्यकर्मीलाई आग्रह पूर्वाग्रह नराखी लक्षित उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाउन निर्देशन दिए ।
त्यसैगरी, खोप अभियानलाई विवादरहित बनाउन सरोकारवालालाई अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले स्थानीय जनप्रतिनिधि, शिक्षक, सञ्चारकर्मी, राजनीतिक दलका अगुवा लगायत सबै पक्षलाई सहयोग गर्न आह्वान गरे ।
पाठेघरको मुखको क्यान्सर र नेपालमा यसको प्रभाव
विश्व स्वास्थ्य संगठन (WHO) का मधेस प्रदेश प्रतिनिधि डा. सुरेश शुक्लाका अनुसार नेपालमा प्रत्येक वर्ष औसत २,१६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिन्छ, जसमध्ये १,३१३ जनाको मृत्यु हुने गरेको छ । नेपालमा दैनिक औसत चार जना महिलाको मृत्यु हुने गरेको तथ्यांक पनि उनले प्रस्तुत गरे ।
गत वर्ष नारायणी अस्पतालमा सञ्चालन गरिएको खोप केन्द्रबाट १,६८० जना बालिका तथा किशोरीले एचपीभी खोप लगाएको तथ्यांक प्रस्तुत गरिएकाे थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामी, नारायणी अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक उदयनारायण सिंह, डा. सुरेन्द्र चौधरी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, वीरगञ्ज हेल्थकेयर अस्पतालकी प्रशासन प्रमुख भूमिका अधिकारी, वीरगञ्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका अनिल यादव लगायतको उपस्थिति रहेको थियो ।