नारायणी अस्पतालको जीर्ण भवन पुनर्निर्माण हुनुपर्ने माग गर्दै स्वास्थ्यकर्मीहरूले सडकमा धर्ना दिएका छन् । अस्पतालका भौतिक संरचना जीर्ण भएको भन्दै डा. नीरज सिंहको नेतृत्वमा चिकित्सकहरू प्लेकार्डसहित त्रिभुवन राजपथमा उत्रिएका हुन् ।
डा. सिंहका अनुसार नारायणी अस्पताल ५०० श्ययाको सुविधा सम्पन्न अस्पताल भए पनि जीर्ण भवनकै कारण बिरामीलाई प्रभावकारी सेवा दिन नसकिने अवस्था छ । देशभरका केन्द्रीय सरकारी अस्पतालहरूमा नयाँ भवन निर्माण भइसकेको भए पनि नारायणी अस्पताल पुरानै अवस्थामा सीमित रहेकाले बनाउन सडकमा उत्रनु परेकाे गुनासो गरे ।
सरकारलाई दबाब दिन सडक संघर्ष
डा. सिंहले नयाँ भवन निर्माणका लागि सरकारलाई दबाब दिन पहिलोपटक स्वास्थ्यकर्मीहरूले सडक अवरुद्ध गरी सरकारको ध्यानाकर्षण गराएको बताए । उनले भने, "भवनको अवस्था यति जीर्ण छ कि उपचारकै क्रममा दुर्घटना हुने खतरा छ, तर पनि सरकारले बेवास्ता गरिरहेको छ ।" यदि माग पूरा भएन भने अझ कडा आन्दोलन गर्नेछाैँ ।
स्वास्थ्यकर्मीहरूले अस्पताल पुनर्निर्माणको विषयलाई अदालतले पनि चाँडै टुंगो लगाउनुपर्ने माग गरेका छन् ।
मुद्दा लम्बिँदा स्वास्थ्य सेवा प्रभावित
नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा नारायणी अस्पताल भवन निर्माण संयोजन समितिका संयोजक डा. सिंहका अनुसार २०७४/७५ मा भवन निर्माणका लागि ठेक्का सम्झौता भए पनि कानुनी विवादका कारण निर्माण रोकिएको छ । सर्वोच्च अदालतमा रहेको मुद्दा लम्बिँदै जाँदा अस्पतालको भौतिक सुधारमा ढिलाइ भएको उनले बताए ।
शहरी विकास विभाग र ठेकेदार कम्पनीहरूबीचको विवादका कारण अस्पताल पुनर्निर्माण प्रक्रियामा अवरोध आइरहेको भन्दै उनले अदालतले यथाशीघ्र निर्णय गर्नुपर्ने माग गरे । "देशभरका अस्पताल भवन भूकम्प प्रतिरोधात्मक हुनुपर्ने प्रावधान छ, तर नारायणी अस्पताल भने जोखिमयुक्त अवस्थामा सञ्चालन भइरहेको छ," उनले थपे ।
स्वास्थ्यकर्मीको माग
- नारायणी अस्पतालको नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्छ ।
- कानुनी प्रक्रियामा रहेको ठेक्का विवादको टुंगो लगाउन अदालतले चाँडो निर्णय गर्नुपर्छ ।
- पुरानो र जीर्ण भवनका कारण बिरामी र स्वास्थ्यकर्मीको सुरक्षामा खतरा भएकाले तत्काल पहल गर्नुपर्छ ।
स्वास्थ्यकर्मीहरूले अस्पताल पुनर्निर्माणको माग सम्बोधन नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।