माघ शुक्ल पञ्चमीका दिन अर्थात आज बसन्त पञ्चमी पर्व मनाइँदै छ । यस दिन विशेषगरी विद्या, ज्ञान र संगीतकी देवी सरस्वतीको पूजाआजा गरिन्छ ।
परापूर्वकालदेखि नै यो दिनलाई विद्या आरम्भ गर्ने शुभ दिनका रूपमा लिइँदै आएको छ । बसन्त पञ्चमीका अवसरमा विशेषगरी विद्यालय, कलेज, मन्दिर तथा घरघरमा सरस्वती देवीको मूर्ति वा तस्वीर स्थापना गरी विधिपूर्वक पूजाआजा गरिन्छ । विद्यार्थीहरू यस दिन बिहानै उठी स्नान गरी देवी सरस्वतीको पूजा गर्दै पुस्तकलगायत शिक्षासम्बन्धी सामग्रीमा अक्षर लेख्ने परम्परा रहँदै आएको छ ।
यो दिनलाई अक्षरारम्भ अर्थात् ‘विद्यारम्भ’ को रूपमा पनि लिने गरिन्छ । यस अवसरमा विशेष गरी पहेँलो वस्त्र धारण गर्ने, पहेँलो फूल अर्पण गर्ने र पहेँलो प्रसाद ग्रहण गर्ने चलन छ । सरस्वती पूजाको दिन विद्या र ज्ञान प्राप्त होस् भन्ने कामनासहित विद्यार्थी, साहित्यकार, कलाकार तथा विद्वानहरूले देवी सरस्वतीको पूजा गर्ने प्रचलन छ ।
सरस्वती पूजामा उच्चारण गरिने प्रमुख मन्त्र
🔸 सरस्वती ध्यान मन्त्र:
"या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥"
🔸 सरस्वती बीज मन्त्र:
"ॐ ऐं सरस्वत्यै ऐं नमः।"
🔸 सरस्वती प्रार्थना:
"सरस्वति नमस्तुभ्यं वरदे कामरूपिणी।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा॥"
नेपालभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौंको स्वयम्भू नजिक रहेको सरस्वती मन्दिर, ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको सल्लाघारी तथा अन्य स्थानका मन्दिरहरूमा विशेष पूजाआजा गरिन्छ ।
पौराणिक मान्यताअनुसार यसै दिन भगवान् ब्रह्माले देवी सरस्वतीको उत्पत्ति गरी सृष्टिमा ज्ञान, संगीत, साहित्य र कलाको सञ्चार गराएको विश्वास गरिन्छ । त्यसैले बसन्त पञ्चमीलाई विद्या, कला र संस्कृतिको आरम्भका रूपमा लिइन्छ ।