काठमाडौं । नेपाल शेयर बजारमा आज हरियाली छाएको छ । नेप्से परिसूचक ६९.८० अङ्कले उकालो लाग्दै २,७२७.५८ अङ्कमा पुगेको छ, जसले लगानीकर्तामा नयाँ उत्साह भरेको छ ।
आजको कारोबारमा उल्लेखनीय वृद्धि भएको छ। ३३० कम्पनीका २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर १ लाख ३० हजार ९१३ पटक खरिदबिक्री हुँदा कारोबार रकम १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ नाघेको छ । यससँगै बजार पूँजीकरण ४५ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।
सबै उपसमूह हरियो, लघुवित्तमा तिव्र वृद्धि
बजारका सबै उपसमूहले सकारात्मक गति लिएका छन् । माइक्रोफाइनान्स उपसमूह ४.९२ प्रतिशतले उकालो लाग्दा, निर्जीवन बीमा ३.७१ प्रतिशत र विकास बैंक ३.१५ प्रतिशतले उचालिएका छन् ।
सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, अभियान लघुवित्त, विजया लघुवित्त, भूगोल इनर्जी, ग्रामीण विकास लघुवित्त र एनएमबी माइक्रोफाइनान्स रहेका छन् । तर, सामुदायिक लघुवित्त भने नकारात्मक सर्किटमा परेको छ ।
लगातार ओरालो लागेको बजार पछिल्ला दिनमा सुधार हुँदै गएपछि लगानीकर्ता उत्साहित देखिएका छन् । बजारमा सकारात्मक संकेत देखिएकाले आगामी दिनमा पनि सुधारको आशा गरिएको छ ।