बाराको जितपुर नगरपालिका–३ का ३६ वर्षीय गार्मेन्ट व्यवसायी फिरोज आलम ठगीको सिकार बनेका छन् ।
डेढ करोड रुपैयाँ मूल्य पर्ने बताइएको जग्गा हात पार्ने लोभमा उनले ६० लाख रुपैयाँ गुमाउनुका साथै ठगी मुद्दामा मुछिन पुगेका छन् ।
२०७९ सालको हिउँदमा जितपुर नगरपालिका–३ का दिलीपकुमार सिंह र काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का गौरव कार्कीले फिरोजलाई बाँकेको डुडुवा गाउँपालिका–५ मा रहेको ३३ कट्ठा जग्गा लिलाम हुन लागेको भन्दै लोभ देखाए । उक्त जग्गा जुम्लाको चन्दननाथ नगरपालिका–८ की रेश्मा श्रेष्ठको नाममा थियो ।
दिलीप र गौरवले फिरोजलाई ६० लाख रुपैयाँ रेश्मालाई ऋण दिए जग्गा उनको नाममा पास हुने विश्वास दिलाए । लोभिएर उनले सो रकम दिन राजी भए । तर, उनी ठगिने योजना यसैक्रममा अगाडि बढेको थियो ।
नक्कली लालपुर्जा बनाएर ठगी
गौरव र दिलीप समूहको मालपोत कार्यालयका केही कर्मचारीहरूसँग मिलेमतो थियो । उनीहरूले फिरोजलाई देखाइएको जग्गाको नक्कली लालपुर्जा तयार गरे। २०७९ फागुन १५ गते फिरोजको नाममा उक्त जग्गा पास गरियो । मालपोत कार्यालय बाहिरै बसेर सबै किर्ते काम गरिएको खुलेको छ ।
पछि, २०८० जेठ ३० गते मालपोत कार्यालयले सोही जग्गा बैंकमा धितो राखिएको प्रमाणपत्र दियो । त्यसैका आधारमा फिरोजले काठमाडौंको लगनटोलस्थित बैंक शाखाबाट १ करोड २० लाख रुपैयाँ कर्जा निकाले ।
बैंकिङ ठगी र पैसा स्थानान्तरण
निकालेको कर्जा रकममध्ये ८४ लाख गौरवले आफ्ना बुबाको खातामा हालेर ५० लाख आफ्नी आमा ईश्वरी माया रोकालाई पठाएका थिए। ईश्वरीले ३१ लाख गौरवकै खातामा पठाइन् । फिरोजले बाँकी ३६ लाखमध्ये साढे ६ लाख दिलीपलाई चेकमार्फत् दिए ।
तर, जब फिरोजले ऋणको सीमा बढाउन मालपोत कार्यालय गए, आफ्नो नाममा जग्गा नै नरहेको देखे। त्यसपछि उनले ठगिएको महसुस गरे र उजुरी दिए । अनुसन्धानका क्रममा मालपोतका केही कर्मचारीहरूको संलग्नता पुष्टि भएको छ ।
प्रहरी अनुसन्धान र पक्राउ
बाँके प्रहरीले अनुसन्धान थालेपछि माघ ८ गते गौरव, उनकी आमा ईश्वरी माया रोकालगायत दिलीपलाई काठमाडौंको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गर्यो । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिन सक्ने बताएको छ ।
यसरी बैंक, मालपोत कार्यालय र दलालहरूको मिलेमतोमा फिरोज आलम ठगिएपछि यो प्रकरणले व्यापक चासो पाएको छ ।