देशभरका ६ वटा महानगरपालिकामध्ये वीरगंज महानगरपालिका अन्तिम स्थानमा परेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार वीरगंज महानगर ४३.१ प्रतिशत अंकका साथ देशकै कमजोर कार्यसम्पादन गर्ने महानगरको सूचीमा परेको हो । आयोगले विभिन्न १७ वटा सूचकका आधारमा महानगरहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।
प्रतिवेदनअनुसार भरतपुर महानगरपालिका ७६.२ प्रतिशत अंक ल्याउँदै देशकै उत्कृष्ट कार्यसम्पादन गर्ने महानगरको सूचीमा पहिलो स्थानमा रहेको छ । त्यस्तै, विराटनगर महानगरपालिका ७३.५ प्रतिशत अंकसहित दोस्रो, ललितपुर महानगर ६६.७ प्रतिशत अंकसहित तेस्रो, काठमाडौं महानगर ५४.३ प्रतिशत अंकका साथ चौथो, पोखरा महानगर ५१.५ प्रतिशत अंकसहित पाँचौँ स्थानमा रहेका छन् । वीरगंज महानगर ४३.१ प्रतिशत अंक ल्याएर सूचीको अन्तिम स्थानमा पुगेको हो ।
आयोगले पालिकाको खर्च, बेरुजु, लेखा परीक्षण प्रतिवेदनमा औँल्याइएका कमीकमजोरी, स्थानीय सञ्चित कोषको प्रयोग, आवधिक योजना निर्माण, राजस्वको वितरण, समयमै बजेट पारित गरिएको वा नगरिएको जस्ता १७ वटा सूचकलाई आधार मानेर मूल्याङ्कन गरेको थियो ।
त्यसैगरी, घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत हिस्सा प्रदेश सरकारलाई मासिक रूपमा हस्तान्तरण गरेको वा नगरेको जस्ता सूचकहरू पनि मूल्याङ्कनमा समावेश गरिएका थिए ।
आयोगको प्रतिवेदनले वीरगंज महानगरपालिकाको कार्यसम्पादनमा गम्भीर कमजोरी देखाएको छ । निर्धारित सूचकअनुसार समयमै बजेट पास नगर्नु, खर्चमा बेरुजु देखिनु, आवधिक योजना बनाउन नसक्नु र राजस्व व्यवस्थापनमा कमजोरी मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख छ ।
वीरगंज महानगरपालिकाले आगामी दिनमा कार्यसम्पादन सुधार गर्न आवश्यक योजना बनाउनु पर्ने आवश्यकता देखाएको छ । कार्यसम्पादन अनुसार स्थानीयवासी पनि महानगरको कार्यसम्पादन प्रति सन्तुष्टि छैनन् ।