पटेर्वा सुगौली गाउँपालिका–२, रंगपुरमा निर्माण भएको बजार तथा चिस्यान केन्द्र भवनको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरी र मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जर्नाधन सिंह क्षेत्रीले उक्त भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री क्षेत्रीले कार्यक्रमकाे सम्बाेधन गर्दै पशु बिमा, फलफूल उत्पादन, कृषक बजार निर्माण तथा कृषकलाई आवश्यक सामग्री उपलब्ध गराउने विषयमा प्रदेश सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिए । यसका साथै उनले कृष्कका लागी प्रदेश सरकार र मेराे मन्त्रालय हर समस्या पहिचान गर्न र किसानलाइ राहत दिन तत्पर रहेकाे बताएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले कृषकहरूलाई सहज र प्रभावकारी बजार व्यवस्थापन उपलब्ध गराउने उद्देश्यले चिस्यान केन्द्र निर्माण गरिएको बताए । उनले भने, "यस केन्द्र मार्फत किसानहरूले आफ्ना उत्पादनलाई उचित मूल्यमा भण्डारण तथा बिक्री गर्न सक्नेछन् । अब किसानले खेतमै उत्पादन बेच्नुपर्ने अवस्था अन्त्य गर्नका लागि गाउँपालिकाले थप योजना अघि बढाउँदैछ ।"
गाउँपालिका अध्यक्ष चौधरीका अनुसार किसानले उत्पादन गरेका सामग्रीको संकलन, बिक्रीवितरण तथा भण्डारणका लागि संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण गरिएको हो ।
६ वटा व्यवस्थित पक्की सेड, मिनि कोल्ड स्टोरसहितको सुविधा
गाउँपालिका अध्यक्ष चौधरीले किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी कृषि बजारमा ६ वटा व्यवस्थित पक्की सेड, शौचालय र कम्पाउन्ड वाल निर्माण गरिएको बताए । यस्तै, किसानका तरकारी तथा कृषि उपज भण्डारणका लागि १९ लाख १९ हजार रुपैयाँको लागतमा १ मेट्रिक टन क्षमताको मिनी कोल्ड स्टोर (चिस्यान केन्द्र) समेत निर्माण गरिएको छ । साथै, सुविधा सम्पन्न भवनभित्रै स्तनपान कक्ष पनि निर्माण गरिएको उनले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति श्रीकृष्ण चौहान, गाउँपालिका उपाध्यक्ष ममता महतो, वडा नं. १ का अध्यक्ष सहम्द अली, वडा नं. २ का अध्यक्ष विजय गैरे, वडा नं. ३ का अध्यक्ष माधव राउत थारु, वडा नं. ४ का अध्यक्ष वासु पंजियार, पालिकाका वडा सदस्यहरू, सखुवा प्रसौनी वडा नं. ३ का वडा अध्यक्ष मोजामिल अंसारीको उपस्थिति रहेको थियो ।
गाउँपालिका अध्यक्ष चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष विजय गैरेले स्वागत मन्तव्य दिएका थिए । भने कार्यक्रमको सहजीकरण शाखा अधिकृत सम्भु प्रसादले गरेका थिए ।

