सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-१, भगवतीपुरकी १७ वर्षीया रिंकु सदा सामूहिक बलात्कारको शिकार बनेकी छिन् । तर, न्यायको सट्टा उनलाई पञ्चायतबाट दबाब र धाक धम्की दिदाँ अन्ततः उनको रहस्यमय मृत्यु भएको छ ।
बलात्कारको घटना
माघ २७ गते साँझ शौच गर्न घर बाहिर निस्किएकी १७ वर्षीया रिंकु सदा राति अबेरसम्म नफर्किएपछि आमा सीता सदाले खोजी गरिन् । राति ३ बजे घर फर्किएकी रिंकु अर्धचेत अवस्थामा थिइन् । उनका कपडा च्यातिएका थिए, शरीरभरि धूलोमैलो लागेको थियो । उनले आमालाई बताएअनुसार, छिमेकी गाउँका रूपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले उनलाई जबरजस्ती खेसारीबारीमा लगी सामूहिक बलात्कार गरेका थिए ।
पञ्चायतको मिलापत्र र धम्की
घटनापछि माघ २९ गते स्थानीय वडासदस्य नथुनी साहसहित चार जना पञ्चायत बस्यो । रिंकुले तीन जनाको नाम किटेर बलात्कारको विवरण सुनाए पनि पञ्चायतले केवल रूपेश मण्डललाई दोषी ठहर्यो । उनलाई मात्र एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरियो ।
तर, जरिवानाको रकम पीडित परिवारलाई उपलब्ध गराइएन । बरु, पञ्चायतका केही सदस्यहरूले रकम बाँडफाँडको माग गर्दै धम्की दिन थाले । पञ्चायत बसेकै दिनदेखि पीडित परिवार त्रासमा थियो ।
रिंकुको मृत्यु
माघ ३० गते रिंकुको विवाहको लागि केटा पक्ष घर आउने तय भएको थियो । घरपरिवारले सम्झाइबुझाइ गर्दा उनी विवाहका लागि तयार भएकी थिइन् । साँझ ५ बजे आमा बजार गएका बेला रिंकु घरमै थिइन् । जब आमा फर्किइन्, ढोकामा बाहिरबाट चुक्कुल लागेको थियो । भित्र जाँदा छोरी झुण्डिएको अवस्थामा भेटिइन् । स्थानीयका अनुसार, उनको शरीर घिसारिएको जस्तो देखिन्थ्यो, जसले हत्या गरी झुण्ड्याइएको आशंका उत्पन्न गराएको छ ।
प्रहरीले जाहेरी लिन मानेन
रिंकुको मृत्युपछि परिवारजन इलाका प्रहरी कार्यालय, लहान पुगे । तर, प्रहरीले सामूहिक बलात्कार र आत्महत्या दुरुत्साहनको उजुरी दर्ता गर्न अस्वीकार गर्यो । प्रहरीमाथि आरोपितलाई जोगाउन खोजेको आरोप लागेको छ ।
पीडित परिवार न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेपछि मधेश प्रदेश प्रहरी कार्यालयले छुट्टै अनुसन्धान टोली खटाएको छ। वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० शान्तिराज कोइरालाको नेतृत्वमा अनुसन्धान जारी रहेको छ ।
परिवार विस्थापित
रिंकुको मृत्युपछि उनकी आमा सीता सदा गहिरो मानसिक आघातमा छिन् । उनी हाल लहान अस्पतालमा उपचाररत छिन् । परिवारजन राति आफ्नै घरमा बस्न डराइरहेका छन् । पीडित परिवार र स्थानीय अगुवाले घटनाको निष्पक्ष अनुसन्धान गर्दै दोषीमाथि कडा कानूनी कारबाहीको माग गरेका छन् ।