मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगंजको प्रतिमा चोकस्थित इण्डो नेपाल हस्पिटल तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा अस्पतालले अनुमति नलिई सञ्चालन गरिरहेको पाइएपछी उनले बिरामीलाई अन्यत्र स्थानान्तरण गरी अस्पताल पूर्ण रूपमा बन्द गर्न आदेश दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत संतोष ठाकुरका अनुसार अस्पताललाई नयाँ बिरामी भर्ना नगर्न तथा सञ्चालन तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार वीरगंजका पाँचवटा निजी अस्पतालहरूको अनुगमन गरेका छन् । जनकपुरका चार अस्पताल बन्द गराएका मुख्यमन्त्री अहिले वीरगंजका अस्पतालहरूको अनुगमन गर्दै निजी अस्पतालहरुलाई दायराभित्र ल्याउने पहल गरेका छन् । उनले अस्पतालहरूको सेवा, सरसफाइ तथा व्यवस्थापन सुधार गर्न निर्देशन दिएको छ ।
वीरगंजको बसपार्कस्थित भवानी हस्पिटल, पानीटंकीस्थित प्रभु हस्पिटल, सर्वोतम हस्पिटल त्यस्तै बाइपासस्थित स्पर्श हस्पिटल र प्रतिमाचोकस्थित नेपाल इण्डो हस्पिटलमा अनुगमन गरेर विभिन्न निर्देशनहरु दिएर गएका छन् ।
अनुगमनका क्रममा इण्डो नेपाल हस्पिटलमा चिकित्सक नै नभेटिएको भन्दै उनले कडा आलोचना गरे । त्यहाँका इमरजेन्सी कक्ष तथा अन्य ओपिडिमा समेत चिकित्सक नरहेको भन्दै आलोचना गरी विभिन्न पक्षहरू औल्याउँदै सञ्चालन अनुमति समेत नभएकाले तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । यस्तै सर्वोतम हस्पिटल फोहोर रहेको देखिएकाले तत्काल सफाइ सुधार गर्न र आकस्मिक कक्षमा अत्यधिक भीड व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

यस्तै मुख्यमन्त्री सिंहले अस्पतालहरूले गरिब तथा असहाय बिरामीहरूलाई अनिवार्य रूपमा १० प्रतिशत छुट दिनुपर्ने, ल्याब उपकरणहरू सरकारी मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने तथा अस्पतालको सेवा पारदर्शी बनाउनुपर्ने लगायतका निर्देशनहरू दिएका छन् ।
यसअघि, मधेस प्रदेश सरकारको टोलीले जनकपुरका विभिन्न निजी अस्पतालहरूमा अनुगमन गरेको मुख्यमन्त्रीले अनुगमनका क्रममा अनियमित भेटिएपछि चार अस्पताल बन्द गरिएका छन् ।

मन्त्रालयका अधिकारीहरूको टोलीले जनकपुरका कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक, नवजीवन हस्पिटल, वैदेही हस्पिटल, जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानमा अनुगमन गरेको थियो ।
अनुगमनपछि जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्ण हस्पिटल प्रालि बन्द गरिएको छ । त्यस्तै, कृष्णा मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टरलाई फोहोरमैला व्यवस्थापन गर्न निर्देशन दिइएको थियो ।
