पर्साको जगरनाथपुर गाउँपालिकामा विद्यालय भवन, स्वास्थ्य चौकी भवन र कृषि तथा पशुपन्छी सेवा केन्द्रको एकै दिन उद्घाटन गरिएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं प्रतिनिधि सभा सदस्य रमेश रिजालले उक्त संरचनाहरूको उद्घाटन गरेका हुन् ।
जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय सुहपुर र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर (सिरा) मा नवनिर्मित विद्यालय भवन तथा वडा नं. ५ मा निर्माण भएको स्वास्थ्य चौकी मसिहानी र कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा पूर्व मन्त्री रिजालले गाउँपालिकाले स्थानीय जनतालाई सेवा प्रदान गर्नका लागि गरिरहेका प्रयासहरू प्रशंसनीय रहेको बताए । उनले विद्यालय भवन निर्माणले विद्यार्थीहरूलाई पठनपाठनमा सहजता ल्याउने, स्वास्थ्य चौकीको भवनले स्वास्थ्य सेवा सुलभ बनाउने तथा कृषि तथा पशुपन्छी सेवा केन्द्रको स्थापना कृषकहरूको हितमा महत्त्वपूर्ण काम हुने उल्लेख गरेका थिए ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय जनताकाे प्राथमिकतामा रहेका विकास निमार्णका कामहरू तीव्र गतिमा अगाडि बढाइरहेको बताए । गाउँपालिकामा भइरहेका विकास निर्माण कार्यले जनतामा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ। हामी माध्यम हाैँ जनताकाे सेवा दिनकै लागी हामी निर्वाचित भएका हाैँ । हाम्रा पालिकाले याेजना अनुसार त्यसतर्फ अग्रसर भएकाे बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत संदेश कुमार यादव, निर्वतमान प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादव, वडाध्यक्ष लक्ष्मी साह तेली, सुभाष यादव, प्रभु प्रसाद नुनिया, नेपाली कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पतीकृष्ण श्रेष्ठ, पर्सा जिल्लाका प्रवक्ता रमेश पाण्डे, कोषाध्यक्ष प्रेम थापा, महाधिवेशन प्रतिनिधि रामदेव चौहान, क्षेत्रीय कोषाध्यक्ष विनय द्विवेदी, मंजय गिरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।