वीरगंजका होटल तथा मसाज केन्द्रलाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साले संयुक्त रूपमा पहल सुरू गरेका छन् ।
आज स्थानीय क्लासिक ब्यांक्वेटमा आयोजित पहिलो चरणको कार्यक्रममा बिरगंजका अधिकांश होटल तथा स्पाका सञ्चालक र प्रबन्धकहरूको उपस्थिति रहेको थियो । जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको संयुक्त आयोजनामा ‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता गर्दै होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल व्यवसायी र प्रहरीको सहकार्य यस क्षेत्रका समस्याहरू समाधानमा कोशेढुंगा साबित हुने बताए । उनले २१ औँ शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलका कोठा छानबिन गरेर आफ्नो महत्त्वपूर्ण समय बर्बाद नगर्न सुझाव दिए ।
त्यस्तै, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले कुनै पनि होटलमा व्यवसायीको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप तथा यौनजन्य गतिविधि नगर्न चेतावनी दिएका थिए । त्यस्ता गतिविधि भेटिएमा कडा कानुनी कारबाही भोग्न तयार रहन आग्रह गरे । उनले आफू पर्सा आएपछि वीरगंजका चार जना होटल व्यवसायीलाई मानव बेचबिखनसम्बन्धी मुद्दा लगाएको जानकारी दिए ।
७० भन्दा बढी होटल व्यवसायीहरूको उपस्थिति रहेको कार्यक्रममा अधिकांशले व्यवसाय सञ्चालनका क्रममा भोगेका समस्याहरू राखेका थिए । कतिपय व्यवसायीले प्रहरी प्रशासनबाट अन्याय भएको गुनासो समेत गरेका थिए ।होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत मन्तव्य दिएका थिए भने दिलीप राज कार्कीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रहरी प्रमुख गौतम मिश्र रहेका थिए भने प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक तथा सामुदायिक प्रहरी प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।