भगवान् शिवजीको उत्पत्तिसँग जोडिएको पवित्र महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा आराध्यदेव भगवान् शिवको विशेष पूजाआराधना गरिन्छ। शास्त्रअनुसार, फागुन कृष्ण चतुर्दशीका दिन परब्रह्मले शिवरुप धारण गरेकाले यस दिन पूजा एवं आराधना गरेमा यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
पशुपतिनाथमा चार प्रहरमा विशेष पूजा
राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा रातभर चार प्रहरमा विशेष पूजा गरिन्छ। बेलुकी करिब ६ बजेबाट सुरू हुने प्रहर पूजाअनुसार पहिलो प्रहरको पूजा पौने ९ बजे सकिन्छ, दोस्रो प्रहर पौने १२ बजे, तेस्रो प्रहर पौने ३ बजे र चौथो प्रहर बिहान ६ बजे सम्पन्न हुन्छ ।
शिवालयमा विधिपूर्वक गरिने चार प्रहर पूजाको धार्मिक महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराई बताउँछन्। पशुपतिनाथ मन्दिरसँगै चावहिलस्थित रुद्रेश्वर महादेव, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव, नागेश्वर, डोलेश्वरलगायतका शिव मन्दिरमा पनि चार प्रहर पूजाको परम्परा रहेको छ।
पशुपतिनाथमा भक्तजनको भीड, विशेष सुरक्षा व्यवस्था
महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा ठूलो संख्यामा भक्तजनको भीड लाग्ने भएकाले विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर परिसरमा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै, सात वर्ष अघिदेखि पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरो बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।
यस वर्ष पशुपतिनाथ मन्दिरलाई विशेष रूपमा सिँगारिएको छ । झिलीमिली बत्ती, फूलमाला तथा आकर्षक सजावटले मन्दिर परिसर झकिझकाउ पारिएको छ । भक्तजनलाई सहज दर्शन गराउने उद्देश्यले बाहिर चार तथा भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ ।
बिहान दुई बजेदेखि नै मन्दिरको ढोका खुला
पशुपतिनाथ मन्दिरका चार ढोका बिहान दुई बजेदेखि नै खोलिएका छन्। यस वर्ष १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने अनुमान गरिएको छ । लामो लाइन कुर्न नसक्ने भक्तजन गजुर दर्शन गरेर फर्कने गरेका छन् । धर्मशास्त्रअनुसार, गजुर दर्शन गर्दा पनि मन्दिरभित्र गएर दर्शन गरेसरह फल प्राप्त हुने विश्वास गरिन्छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका साथै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको ठूलो भीड लाग्नेछ । राजधानी बाहिरका प्रमुख शिव मन्दिरमा समेत पूजाआराधना, भजनकीर्तन तथा मेला लाग्ने परम्परा रहेको छ ।