बाराको सिमरामा मालपोत तथा नापी कार्यालयका सेवा केन्द्र स्थापना गरिए पनि यसभेगका सेवाग्राहीहरू अनावश्यक दुःख पाउने गरेको गुनासो गरिरहेका छन् ।
बिहान १० बजेबाट सञ्चालनमा आउनुपर्ने यी कार्यालयमा कर्मचारी ढिला आउने, समयमा काम नगर्ने, सेवाग्राहीलाई अलमल्याउने तथा फाइल पास गर्न ढिलाइ गर्नेजस्ता समस्याहरू दैनिक हुने गरेकाे सेवाग्राहीहरूले गुनासाे गरेका छन् । सेवाग्राहीहरूका अनुसार फागुन १८ गते आइतवार बिहान १०:३० बजेसम्म पनि कार्यालयमा कुनै कर्मचारी उपस्थित भएका थिएनन् । यस्तो ढिलाइ नियमित रूपमा भइरहने समस्या हो ।
सेवा लिन बिहानैदेखि लाइन लाग्ने नागरिकहरू कर्मचारी समयमै नआउँदा निराश बन्ने गरेका छन् । ११ बजेसम्म मात्र कर्मचारीहरू आउने गरेको सेवाग्राहीहरूको गुनासो छ । सिमराको मालपोत कार्यालयमा एकजना प्रमुख मालपोत अधिकृत, दुईजना शाखा अधिकृत, छ जना नासु, चारजना खरिदार, कम्प्युटर अपरेटर र सहायक गरी १९ जनाको दरबन्दी छ ।
यस्तै, नापी कार्यालयका कर्मचारीहरू समयमा आउदैन्न । पर्याप्त कर्मचारी दरबन्दी भए पनि काममा लापरबाहीका कारण सेवाग्राहीहरू मारमा परेका छन् ।
अनुगमन भएपनि सुधार नभएको सेवाग्राहीहरूको गुनासो
मधेस प्रदेश सरकार मातहतको यस कार्यालयमा केही साताअघि अनुगमन टोलीले निरीक्षण गरेको थियो । तर, अनुगमनपछि पनि सुधार नआएको सेवाग्राहीहरू बताउँछन् । कार्यालय प्रमुख र कर्मचारीहरूले सुधारको आश्वासन दिने तर व्यवहारमा कुनै परिवर्तन नआउने प्रवृत्ति देखिएको छ ।
मालपोत कार्यालय प्रमुख इन्द्र पाण्डेले एकजना कर्मचारी बिदामा रहेको र बाँकी सबै समयमै कार्यालयमा आउने गरेको दाबी गरेका छन् । उनले खरिदार हरिनारायण यादव बिदामा बसेको जानकारी गराउँदै कार्यालयमा दैनिक ५/६ वटा लेखत पास हुने बताए । तर, उनले सबै कर्मचारी ११ बजेसम्म आउने गरेको स्वीकारे ।
सेवाग्राहीहरू भने कार्यालय प्रमुखकै मिलेमतोमा ढिलासुस्ती भइरहेको आरोप लगाउँछन् ।