गोरखा – बुढीगण्डकी नदी किनारका बगरहरूमा पछिल्ला केही दिनयता ठूलो संख्यामा मानिसहरू पतेरो खोज्दै डुलिरहेका छन् । धार्चे गाउँपालिका अन्तर्गत माछीखोला क्षेत्र र चुमनुब्री गाउँपालिकाको जगत क्षेत्रका स्थानीयहरू नदी किनारका ढुंगामुनि रहेको पतेरो संकलन गर्न पुगेका हुन् ।
स्थानीय व्यापारीमार्फत चिनियाँ व्यापारीहरूले महँगो मूल्यमा पतेरो किन्ने हल्ला चलेपछि स्थानीयहरू उत्साहित भएर बगरमा पुग्न थालेका हुन् । पतेरो एकप्रकारको किरा हो, जुन प्रायः बोटविरूवा, ओसिलो सतह वा ढुंगामुनि पाइने गर्दछ । चुमनुब्री गाउँपालिका–३ सिर्दिवासका वडा अध्यक्ष रामकुमार गुरूङका अनुसार तीन–चार दिनअघिसम्म बगरमा पतेरो खोज्नेको ठूलो भीड थियो । अहिले भने पतेरो पाउन मुस्किल हुँदै गएको कारण मानिसहरूको संख्या घट्दै गएको उनले बताए ।
सोमबार बिहान उनले भने, ‘बगरमा पतेरो खोज्नेको भिड नै थियो, अहिले केही कम देखिएका छन्,’ ।
स्थानीय स्रोतका अनुसार प्रतिकेजी ८०० रुपैयाँमा बिक्री हुने हल्लाले मानिसहरूलाई बगरतर्फ तान्यो । तर, वडा कार्यालयलाई भने पतेरो खोज्ने बारे कुनै आधिकारिक जानकारी छैन । ‘हामीलाई पतेरो किन टिपिएको हो, कहाँ बिक्री गरिन्छ भन्ने केही थाहा छैन,’ वडाध्यक्ष गुरूङले भने, ‘स्थानीयहरूले बगरबाट संकलन गरेको पतेरो बिक्री गरे कि गरेनन् भन्ने जानकारी हामीलाई छैन ।’
सिर्दिवासस्थित फिलिमका सुजन गुरूङले स्थानीय बासिन्दा पतेरो खोज्न बगरमा डुलिरहेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो विषय चर्चामा आएको हो । भिडिओमा ठूलो संख्यामा मानिसहरू ढुंगामुनि हेर्दै पतेरो खोजिरहेको देख्न सकिन्छ ।