नेपाल–भारत खुला सिमानाका कारण सप्तरी, पर्सा, बारा, रौतहटलगायतका जिल्लामा लागुऔषध तस्करी र भन्सार छलीका घटनाहरू बढ्दै गएका छन् ।
तस्करहरूले ठूला गोदाम प्रयोग गरी गाँजा, सुर्तीजन्य पदार्थ, भन्सार छलीका सामान भण्डारण गर्ने र रातको समयमा भारततर्फ ओसारपसार गर्ने गरेको पाइएकाे छ । जसअन्तर्गत सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित गोदाममा प्रहरीले छापा मारेर ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ ।
सुराकीका आधारमा संयुक्त प्रहरी टोलीले २४ क्यून्टलभन्दा बढी अर्थात् २४ सय १९ किलोग्राम गाँजा बरामद गरेको सप्तरी प्रहरी प्रमुख डकेन्द्र खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार उक्त गोदामबाट भन्सार छली गरी ल्याइएको १४२ कार्टुन स्याउ समेत बरामद गरिएको छ ।
८ घण्टासम्म अपरेशन, गोदाममा स्याउ, कपडा र भुजा
प्रहरी प्रमुख खतिवडाका अनुसार ८ घण्टाभन्दा बढी समय लगाएर गोदामभित्र खोजीकार्य गरिएको थियो । "गोदामको कुनै भागमा कपडा, कुनै भागमा स्याउ, कुनै भागमा चामलको भुजा राखिएको थियो । ती सामानहरू हटाउँदै गाँजा तौल गर्न लामो समय लागेको हो," खतिवडाले भने। उनका अनुसार सप्तरी प्रहरीले हालसम्मकै ठूलो अपरेशन सम्पन्न गरेको छ ।
गोदाम सञ्चालकबारे अनुसन्धान हुँदै
प्रहरीका अनुसार बरामद गरिएको सबै सामान आवश्यक अनुसन्धान र कारबाहीका लागि सप्तरी प्रहरी कार्यालयमा राखिएको छ ।
हालसम्म गोदाम सञ्चालकबारे कुनै जानकारी प्राप्त नभएको र भोलि मालपोत तथा नापी कार्यालयबाट जग्गा धनीको विवरण खोजी गरिने सप्तरी प्रहरीले जनाएको छ । जग्गाधनीको विवरण आएपछि गोदाम सञ्चालक र गाँजा तस्करीबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।