पर्सामा यही चैत ७ गतेदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादितरूपमा सञ्चालन गर्न सरोकारवालाहरूबीच विशेष छलफल गरिएको छ ।
छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले परीक्षामा हुने चिट चोर्ने कार्यलाई निरुत्साहित गर्न विशेष रणनीति अपनाइने बताए । उनले परीक्षामा कुनै प्रकारको धाँधली हुन नदिन कडाइ गरिने चेतावनी दिए । पर्सामा विगतमा परीक्षाकेन्द्र किनबेच हुने गुनासो आएको भन्दै यस्तो कार्यमा संलग्न जोसुकैलाई कानूनी कारबाही गरिने उनले स्पष्ट पारे । एसइई परीक्षामा संस्थागत विद्यालयहरूको चलखेल भइरहेको भन्दै उनले विद्यालयहरूले विद्यार्थी र अभिभावकसँग रकम असुल्ने गरेको गुनासो आएको बताए । यस्तो कार्य गलत भएको भन्दै संलग्नलाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो ।
शिक्षा विकास तथा समन्वय कार्यालय, पर्साले जिल्ला प्रशासन कार्यालय, पर्साको सभाकक्षमा आयोजना गरेको उक्त छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक सङ्गठन, अभिभावक संघका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी भएका थिए ।
छलफलमा पूर्व शिक्षा अधिकारी एवं हाल बहुदरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले परीक्षामा गार्ड नियुक्त गर्न मन्त्रीहरूबाट सिफारिश आउने गरेको स्मरण गरे । यस्तो हस्तक्षेपका कारण परीक्षा मर्यादित बनाउनु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।
अभिभावक सङ्घका प्रतिनिधिहरूले शिक्षाको गुणस्तर सुधार्ने कुरामा विशेष ध्यान दिनुपर्ने बताए। विद्यार्थी बिहान १० देखि साँझ ५ बजेसम्म विद्यालयमा अध्ययन गर्दा पनि नतिजा कमजोर आउनु चिन्ताको विषय भएको भन्दै शिक्षकहरू स्वयं जिम्मेवार हुनुपर्ने उनीहरूको तर्क थियो।
यस्ताे छ, एसइई दिने विद्यार्थीकाे तथ्यांक र परीक्षा केन्द्रहरू
पर्सामा २०८१ सालको एसइई परीक्षामा नियमिततर्फ ९,९७३ जना, प्राविधिकतर्फ २१० जना र ग्रेड वृद्धितर्फ १,२३० जना गरी कुल ११,४१३ विद्यार्थी सहभागी हुने भएका छन् ।
- सामुदायिक विद्यालयतर्फ ९,०४९ विद्यार्थी
- संस्थागत विद्यालयतर्फ २,३६४ विद्यार्थी
- सामुदायिक विद्यालयका लागि २८ परीक्षा केन्द्र
- संस्थागत विद्यालयका लागि १ परीक्षा केन्द्र
- वीरगंज महानगरभित्र १७ परीक्षा केन्द्र
- महानगर बाहिर १२ परीक्षा केन्द्र
जोखिमयुक्त परीक्षा केन्द्रहरू
समन्वय एकाइ प्रमुख हरिप्रसाद कुर्मीका अनुसार पर्साका २९ परीक्षा केन्द्रमध्ये ४ वटा केन्द्र जोखिमयुक्त छन् ।
- द्वारदेवी मावि, अलौं
- रामचरित्र मावि, पकहामैनपुर
- मङ्गल मावि, भिस्वा
परीक्षा निष्पक्ष र मर्यादित बनाउन प्रशासन, सुरक्षा निकाय, शिक्षक तथा अभिभावकले सामूहिक रूपमा पहल गर्नुपर्ने आवश्यकता रहेको छलफलमा सहभागीहरूले बताएका थिए ।