मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले प्रदेशको अवस्था नाजुक बन्दै गएको भन्दै आफू निकै असन्तुष्ट रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारको रवैया सुधार नभए सङ्घीयता नै सङ्कटमा पर्न सक्ने बताएका छन् । मन्त्री यादवले मधेशको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता रहेपनि आफू सरकारको कार्यशैलीबाट सन्तुष्ट नरहेको बताए । उनले मुख्यमन्त्री सतिश कुमार सिंहलाई पटकपटक सुधार गर्न आग्रह गरे पनि कुनै ठोस परिवर्तन नभएको गुनासो गरे ।
"म आफैँ मन्त्री हुँ, तर सन्तुष्ट छैन । केही दिन अझै यही अवस्थामा म मन्त्री रहे आफै डिप्रेसनको शिकार हुन्छु जस्तो लागिरहेको छ," मन्त्री यादवले बताए । उनले मुख्यमन्त्री सिंहले सुधार नगरे आफू सरकारबाट बाहिरिन पनि तयार रहेको सङ्केत गरे । "यदि सुधार सम्भव छैन भने म सरकार छोड्न सक्छु । अरूलाई पठाइदिन सक्छु," उनले थपे ।
संघीयता नै धरापमा पर्न सक्ने
मन्त्री यादवले प्रदेश सरकारको कमजोर प्रशासनिक कार्यशैलीले सङ्घीयताको अवधारणा मै असर पार्ने बताए । उनले राजनीतिक दलहरूलाई नै प्रदेशको दयनीय अवस्थाका लागि दोषी ठहर्याउँदै इमान्दारिता नहुँदा समस्या चुलिएको दाबी गरे । "मैले पटकपटक मुख्यमन्त्रीसँग भेटेर अवस्था सुधार्न पहल गर्न आग्रह गरिसकेको छु । तर, अझै पनि सुधारको कुनै सङ्केत देखिएको छैन," उनले भने ।
मन्त्री यादवले केही पत्रकारहरूले आफ्नो मन्त्रालयबाट विज्ञापन नपाएको भन्दै समाचार मार्फत दबाब दिने प्रयास गरेको गुनासो पनि गरे । "पत्रकारहरू फोन गरेर धम्क्याउँछन्, विज्ञापन आएन भने नेगेटिभ समाचार लेख्छौ भन्छन् । यस्तो प्रवृत्ति सही हो," उनले प्रश्न गरे ।