डिभिजन वन कार्यालय, पर्साको सहकार्यमा विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूहले १४ वर्षपछि काठ वितरण सुरू गरेको छ ।
मंगलबार एक विशेष कार्यक्रमका बीच मधेस प्रदेशका वन तथा वातावरणमन्त्री त्रिभुवन साहले उपभोक्ताहरूलाई काठ वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे । विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूह गठन भए पनि विगत १४ वर्षदेखि आवश्यक भेला नहुँदा समूह वैधानिक बन्न सकेको थिएन ।
वैधानिकता नपाएको कारण उपभोक्ताहरूले काठ, दाउरा प्राप्त गर्न सकेका थिएनन् । केही महिनाअघि समूहले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि काठ वितरणका लागि बाटो खुलेको हो । डिभिजन वन कार्यालय, पर्साका प्रमुख मन्जुर अहमदका अनुसार काठ दाउरा बिक्री वितरण कार्यविधि २०८१ अनुसार उपभोक्ताहरूलाई काठ तथा दाउरा वितरण सुरू गरिएको छ । समूह अन्तर्गत नगरपालिकाका ७ वटा वडा र गाउँपालिकाका ३३ वटा गरी कुल ४० वटा वडा रहेका छन् ।
कार्यक्रममा मन्त्री त्रिभुवन साहले वन उपभोक्ता समूहलाई प्रभावकारी बनाउनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले स्थानीय उपभोक्ताहरूले उचित मूल्यमा काठ तथा दाउरा प्राप्त गर्नुपर्नेमा जोड दिँदै वन स्रोतको न्यायोचित प्रयोग गर्दै वन संरक्षणलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए ।
विगत १४ वर्षदेखि काठ नपाएर समस्यामा परेका स्थानीय बासिन्दा काठ वितरण पुनः सुरू भएपछि उत्साहित देखिएका छन् । कार्यक्रम विन्ध्यवासिनी, कोइलाभार, बडनिहार साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष रिजवानुल हकको सभापतित्वमा सम्पन्न भएको थियो ।