सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरलाई विश्वविद्यालय सिनेटको बैठकले बर्खास्त गर्ने निर्णय गरेको छ ।
मङ्गलवार राति बसेको सिनेट बैठकले नियुक्ति प्रक्रियामा त्रुटि भएको र आर्थिक अपचलन समेत देखिएको निष्कर्ष निकाल्दै दुवै जनालाई पदमुक्त गर्ने निर्णय गरेको हो । मधेश सरकारले गठन गरेको छानबिन समितिले उपकुलपति महतोको नियुक्ति प्रक्रियामै त्रुटि रहेको निष्कर्ष निकालेको थियो । यसका साथै, समितिले आर्थिक अपचलन भएको पनि औंल्याएको छ । यद्यपि, समितिको प्रतिवेदन सार्वजनिक भने गरिएको छैन ।
तत्कालीन जसपा नेपाल नेतृत्वको सरकारले ०८१ मंसिर २१ गते डा. महतोलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको थियो । त्यसको केही दिनपछि रजिस्ट्रारमा ठाकुर नियुक्त भएका थिए ।
बजेट पारित, विश्वविद्यालय व्यवस्थापनमा सुधारको प्रयास
सिनेट बैठकले विश्वविद्यालयको बजेट पारित गर्नुका साथै अघिल्लो खर्चलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ । अब विश्वविद्यालयले ३३ करोड रुपैयाँ बजेट सञ्चालन गर्न पाउने भएको छ ।
मधेश कृषि विश्वविद्यालयमा पछिल्लो समय राजनीतिक द्वन्द्व बढ्दै गएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई बाइपास गर्दै विश्वविद्यालय भवनको शिलान्यास गरेपछि विवाद उत्पन्न भएको थियो । जसपा र जनमतबीचको विवादकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले विश्वविद्यालयमा अनियमितता भएको भन्दै छानबिन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसका आधारमा उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गरिएको हो ।
सिनेट बैठकपछि विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार पद रिक्त भएका छन् ।