राजविराज । सप्तरीको सीमा क्षेत्रमा बढ्दो अवैध लागुऔषध तस्करी र सुरक्षाकर्मीहरूको भूमिकाप्रति गम्भीर प्रश्न उठाउँदै सप्तरी युथ नेपालले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
बुधबार सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको नेतृत्वमा प्रशासन कार्यालयमा पुगेको टोलीले जिल्लामा संगठित अपराध मौलाउँदै गएको भन्दै ज्ञापन बुझाएको हो ।
सप्तरी युथ नेपालका अनुसार, हालै प्रजिअ दाहालको पहलकदमीमा गरिएको अनुगमनका क्रममा राजविराज नजिकैको एक गोदामबाट २ हजार ४१९ किलो गाँजा बरामद भएको थियो । साथै, लाखौँ रुपैयाँ बराबरको तयारी कपडा, सुर्ती, प्लम्बिङ सामग्री तथा ट्रकमा लोड गरिएको १४२ कार्टुन स्याउ पनि नियन्त्रणमा लिइएको थियो ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, यस्ता घटनाले जिल्लामा संगठित अपराध मौलाउँदै गएको देखिन्छ । लागुऔषध तस्करीमा संलग्न अपराधीहरूलाई कारबाही गर्ने नाममा केवल साना माछा पक्राउ गरिँदै आएको आरोप लगाइएको छ ।
सुरक्षा संयन्त्र सुधार गर्न माग, बेवास्ता गरे आन्दोलनको चेतावनी
ज्ञापनपत्रमा सुरक्षा संयन्त्रलाई सुधार गर्दै समाजलाई लागुऔषधको चपेटाबाट बचाउन प्रभावकारी नीति तथा योजना तुरुन्त कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ ।
यदि प्रशासनले माग सम्बोधन नगरेमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि सप्तरी युथ नेपालले दिएको छ । संगठनले अवैध गतिविधिहरूमा सुरक्षाकर्मीको संलग्नता छ कि छैन भन्ने विषयमा निष्पक्ष छानबिन गर्न समेत माग गरेको छ ।
सुरक्षा रणनीति पुनरावलोकन गरिने प्रजिअ दाहालको प्रतिबद्धता
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले घटनाको निष्पक्ष छानबिन भइरहेको र संलग्न दोषीमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सीमा सुरक्षामा थप कडाइ गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न सुरक्षा रणनीति पुनरावलोकन गर्ने बताए ।