साविक विजेता नेपाल पुलिस क्लब दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक वीरगंज युनाइटेड क्लबलाई सडेन डेथमा पराजित गर्दै पुलिस क्लबले उपाधि नजिकको यात्रा तय गरेको हो ।
वीरगंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न खेलमा निर्धारित ९० मिनेटसम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि दुवै टिमले समान स्कोर गरेपछि खेल सडेन डेथमा पुगेको थियो ।
टाइब्रेकरमा नेपाल पुलिस क्लबका उज्ज्वल राई, रामचन्द्र वाजी, संजीव लामा, अमित टामाटा, विवेक पाण्डेले प्रहार गरेका थिए । तर, राईको बल पोल बाहिरिएको थियो भने लामाको प्रहार विपक्षी गोलकिपरले रोकिदिएका थिए । त्यसपछि सडेन डेथमा पुलिसका शिशिर चौधरी, निरज खड्का, प्रज्ज्वल चौधरी र सुनिल तामाङ्गले गोल गरे ।
वीरगंज युनाइटेडका लागि टाइब्रेकरमा आशा गुरुङ, सनतबहादुर गुरुङ, सिसस थापा, बल्टोर र कृपाकान्त चौधरीले प्रहार गरेका थिए । जसमा सनतबहादुरको प्रहार पुलिस गोलकिपरले रोके भने बल्टोरको प्रहार पोलमा लागेको थियो । सडेन डेथमा वीरगंजका अजित चौधरी, ब्रिकम ठाकुर, प्रमजय चौधरी र विवेक चौधरीले प्रहार गरेका थिए । तर, विवेकको प्रहार पोस्ट बाहिरिएको थियो, जसका कारण पुलिस क्लब फाइनलमा प्रवेश गर्न सफल भयो ।
खेलमा नेपाल पुलिस क्लबका गोलकिपर अमित टामाटा म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ र शिल्ड प्राप्त गरे । अब पुलिस क्लबले फाइनलमा आफ्नो प्रतिद्वन्द्वी पर्खनुपर्नेछ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सहलेस फुटबल क्लब सिरहाबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो वीरगंज गोल्डकप प्रतियोगिता मधेस प्रदेशकै सर्वाधिक धनराशि रहेको फुटबल प्रतियोगिता हो । यस प्रतियोगिताका विजेताले नगद ११ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताका मुख्य प्रायोजक वीरगंज महानगरपालिका रहेको छ । करिब १ करोड रुपैयाँ लागत रहेको प्रतियोगिताका लागि अस्थायी प्याराफिट निर्माण गरिएको छ, जसमा २ हजारभन्दा बढी दर्शक अट्न सक्नेछन्। साथै, मैदानको अन्य भागमा करिब ३ हजारभन्दा बढी दर्शक रहने आयोजकको अनुमान छ ।