गौर राइस मिल्सको जग्गा बिक्री गर्न नपाइने भन्दै रौतहट सदरमुकाम गौरमा युवाहरू र विभिन्न राजनीतिक दलका नेताहरूले विरोध प्रदर्शन गरेका छन् । ‘भू-माफिया सचेत रहोस्’ र ‘नगरप्रमुख मुर्दावाद’ जस्ता नारासहित प्रदर्शनकारीहरूले नगरपालिकाको योजना विरुद्ध रोष प्रकट गरेका हुन् ।
बुधबार भएको प्रदर्शनमा प्रदेशसभा सदस्य नागेन्द्र साह, कांग्रेस नेता मोहन यादव, एमाले युवा नेता बजरंगी गुप्ता, मिथिलेश झा, राप्रपा नेता विक्रान्त नेपाल (पालु), गौर नगरका पूर्व वडाध्यक्षहरू तथा स्थानीय युवाहरूको उपस्थिति रहेको थियो । उनीहरूले गौर राइस मिल्सको जग्गा रौतहटबासीको सम्पत्ति भएको उल्लेख गर्दै कुनै पनि हालतमा बेच्न नदिने बताए ।
प्रदर्शनकारीहरूले गौर नगरपालिकाका मेयर शम्भु साहको संलग्नतामा गौर राइस मिल्सको जग्गा बिक्रीको तयारी भइरहेको आरोप लगाएका छन् । दुई साताअघि पत्रकार प्रवीण टिबडेवालले आफ्नो फेसबुक पोस्टमार्फत नगरपालिकाका केही पदाधिकारीहरूले जग्गा बिक्री गर्न लागेको खुलासा गरेका थिए । प्रारम्भमा स्थानीयले यो दाबीलाई गम्भीर रूपमा नलिए पनि मंगलबार टिबडेवालले ठोस प्रमाण सार्वजनिक गरेपछि गौरको माहोल तातेको थियो ।
बिपी चोकबाट सुरु भएको विरोध ¥याली जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय हुँदै गौर नगरपालिकाको कार्यालय अगाडि पुगेर नाराबाजीमा परिणत भएको थियो । त्यसपछि गौर राइस मिल्स जग्गा बचाउ समितिले नगरप्रमुख साहलाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब निर्णय सच्याउन माग गरेका छन् । नगरपालिकाले कुनै पनि हालतमा यो जग्गा बिक्री गर्न नपाइने चेतावनी दिँदै यदि निर्णय सच्याइएन भने चरणबद्ध आन्दोलन गर्ने सहभागी मध्येका एक युवाले बताए ।
यता नगरप्रमुख शम्भु साहले भने आफ्नो संलग्नता नरहेको दाबी गर्दै नगरपालिकाले कुनै पनि अवैध निर्णय नगर्ने स्पष्ट पारे । उनले स्थानीयको मागलाई गम्भीर रूपमा लिने र आवश्यक परे नगरस्तरमा छलफल गर्ने बताए ।