वीरगंजमा "कलर अफ वीरगञ्ज" नामक तीन दिने चित्रकला प्रदर्शनी सुरु भएको छ ।
वीरगञ्ज कलाकार समाजको आयोजना र भोजपुरी प्रतिष्ठान वीरगञ्जको सहकार्यमा सुरु भएको उक्त प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीहरूले सिर्जना गरेका चित्रहरू प्रदर्शनीका लागि राखिएको छ ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत अरविन्द लाल कर्णले कार्यक्रमकाे उदघाटन गर्दै बालबालिकाहरूको कलात्मक क्षमताको प्रशंसा गरेका थिए उनले चित्रकलाले समाजको भावनात्मक तथा सांस्कृतिक अभिव्यक्ति दिन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले भने,, "यहाँ प्रदर्शन गरिएका चित्रहरू निकै प्रभावशाली छन् । केही चित्रहरू त चित्र कोरिएका हुन् कि फोटो खिचिएको हो भन्ने दुविधा सिर्जना गर्छन् । कलाकारिता भनेको कल्पनालाई क्यानभासमा उतार्ने अद्भुत क्षमता हो ।"
उनले बालबालिकाले समाजप्रति देखाएको चासो, वातावरणीय चिन्ता तथा विभिन्न विभूतिहरूको स्मरणमार्फत चित्रकलाको माध्यमबाट सन्देश दिन खोजिएकोमा खुसी व्यक्त गरे । साथै, उनले भोजपुरी प्रतिष्ठान वीरगञ्जको सहकार्यप्रति आभार प्रकट गरे ।
१८ विद्यालयका १ सय ८७ चित्र प्रदर्शनीमा
वीरगंजको आदर्शनगरस्थित रानीसती अतिथि सदनमा आयोजित प्रदर्शनीमा १८ वटा विद्यालयका करिब १ सय ८७ वटा चित्र प्रदर्शनीमा राखिएको आयोजक संस्थाका अध्यक्ष मुकेश महतो नुनियाले जानकारी दिएका छन् । वीरगंजका बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गर्दै समाज, वातावरण, संस्कृतिलगायत विभिन्न विषयमा आधारित चित्रहरू कोरेका छन् ।
तीन दिनका विशेष कार्यक्रमहरू
- पहिलो दिन (बिहीबार) – बालबालिकाहरूले बनाएका चित्रहरूको अवलोकन उदघाटन ।
- दोस्रो दिन (शुक्रबार) – सहभागी १८ विद्यालयका विद्यार्थीहरूका चित्रकलाको अवलोकन ।
- तेस्रो दिन (शनिबार) – अभिभावकहरूबीच चित्रकला प्रतियोगिता ।
समाजका प्रतिनिधि रितेश महतोका अनुसार, अभिभावकहरूका लागि विशेष चित्रकला प्रतियोगिता आयोजना गरिएको बताए ।
यस प्रदर्शनीले स्थानीय कलाकारहरू, कलाप्रेमीहरू तथा बालबालिकाहरूको सिर्जनशीलता उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जानकारी दिएकाे छ । समाजका अध्यक्ष महतोका अनुसार, "गाउँठाउँको परम्परा, सांस्कृतिक धरोहर र वर्तमान परिवेशलाई चित्रकलाको माध्यमबाट उजागर गर्नु यस प्रदर्शनीको मुख्य उद्देश्य रहेकाे बताए । "
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक-शिक्षिका, संघसंस्थाका प्रतिनिधिहरू तथा संचारकर्मीको उपस्थिति रहेको थियो । प्रदर्शनीको सहजीकरण भोजपुरी प्रतिष्ठान वीरगञ्जका श्याम सर्राफ र वीरगञ्ज कलाकार समाजका रितेश महतोले गरेका थिए ।