मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको गरुडा र शिवनगरमा सञ्चालित केही निजी अस्पतालहरूको छड्के अनुगमन गर्दै १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
मापदण्ड विपरीत सञ्चालन भइरहेको भन्दै उनले अस्पतालहरू बन्द गराउन निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले गरुडा–५ शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालि, गरुडा सिटी अस्पताल प्रालि, अनामिका अस्पताल प्रालि, नेत्र ज्योति आइ अस्पताल, गौर आँखा अस्पताल, गरुडा अस्पताल, रोम अस्पताल प्रालि, होप अस्पताल प्रालि, सनसिटी अस्पताल र सरस्वती अस्पताल प्रालिको अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिव तथा जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
अनुगमन गरेका सबै अस्पताल अवैध रहेको ठाकुरले जानकारी दिए । शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालिले गरुडा नगरपालिकाबाट २५ शय्याको अनुमति लिएर ५० शय्या सञ्चालन गरेको उनले जानकारी दिए । नगरपालिकाबाट १५ शय्याको मात्रै अनुमति दिने व्यवस्था छ । गत शनिबार पनि मुख्यमन्त्रीसहितको अनुगमन टोलीले चन्द्रनिगाहपुरको ११ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा १० वटा अस्पतालले अनुमति नलिएको भेटिएको थियो ।
मुख्यमन्त्री सिंहको टोली अनुगमनका लागि पुगेको बेला वर्षौंदेखि गैरकानुनी रूपमा सञ्चालन हुँदै आएको शिवनगरस्थित आनन्द हस्पिटल एण्ड एक्युपञ्चर सेन्टरका सञ्चालक उमेश प्रसाद फरार भएका थिए । मापदण्डविपरीत सञ्चालन भइरहेको सो अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।
मुख्यमन्त्री सिंहले यदि निर्देशन अवज्ञा गरी पुनः अस्पताल सञ्चालन गरेको पाइएमा प्रहरीले अस्पताल सञ्चालकहरूलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । उनका अनुसार, स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालन गरिएका अस्पतालहरूले बिरामीहरूलाई आर्थिक रूपमा ठग्दै आएको पाइएको छ ।