व्यावसायिक गोलभेंडा खेतीले बजार नपाउँदा किसानहरू ठूलो आर्थिक संकटमा परेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिकाका किसानहरूले लगाएकाे गाेलभेंडा थाेककाे बजार मूल्य किलाे कै ढेड रूपैयाँ भएपछी किसानहरू लगानी डुब्ने भयले चिन्तित भएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११, १२, १९, र २० स्थित सिसहनिया, फत्तेपुर, इनर्वासिरा, र कञ्चनपुर क्षेत्रमा किसानहरूले सय बिघाभन्दा बढी व्यावसायिक रूपमा गोलभेंडा खेती गरेका छन् । तर, अहिले बजार नपाउँदा खेतमै गोलभेंडा कुहिने अवस्थामा पुगेको किसानहरूको गुनासो रहेकाे छ ।
जीतपुरसिमरा–११ सिसनियाका किसान सन्तोष यादव इजरायलबाट कृषि सिकेर फर्किएपछि नेपालमै व्यवसायिक खेती थालेका थिए । उनले चार बिघामा गोलभेंडा खेतीमा करिब २० लाख लगानी गरे पनि अहिलेसम्म ८ लाखको पनि बिक्री नभएको बताए । पहिले २५ किलोको क्यारेट डेढ हजार रुपैयाँमा बिक्री भए पनि अहिले ७० रुपैयाँसम्म झरेको उनले बताए ।
मजदूरी, ढुवानी र प्याकिङ लागत समेत नउठ्ने भएपछि किसानहरू समस्यामा परेका छन् ।

भारतबाट चोरी पैठारीले समस्या
फत्तेपुरका अर्का किसान रवीन्द्र सहनीले पाँच बिघामा २७ लाख लगानी गरे पनि १० लाखको उत्पादन समेत बिक्री हुन नसकेको उनले बताए ।
भारतबाट अवैध रूपमा भित्रिने गोलभेंडाले नेपाली उत्पादनलाई असर पारेको उनकाे गुनासो छ । किसान सहनीका अनुसार भारतबाट खुलेआम अवैध रूपमा सस्तो मूल्यमा गोलभेंडा भित्रिँदा नेपाली उत्पादनले बजार पाउन सकेको छैन ।
उनले सरकारले चोरी पैठारी नियन्त्रण नगरे किसानहरू आत्मनिर्भर हुन नसक्ने र उत्पादनमै घाटा हुने दुखेसाे पाेखे ।
हरियो तरकारीको मूल्य घट्दा किसान मारमा
पछिल्लो समय गोलभेंडा मात्र होइन, अन्य हरिया तरकारीहरूको मूल्य समेत लगातार घट्दा किसानहरू ठूलो घाटामा परेका छन् । पुस पहिलो सातादेखि नै बजारमा भारतिय उत्पादनको चाप बढेपछि काउली, बन्दाकोभी, आलु, केराउ लगायतका तरकारी पनि किसानले खेतमै सडाउनु परेको छ ।
किसानहरूले अवैध तरकारी आयात रोक्न, उचित बजार व्यवस्थापन गर्न र स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न सरकारसँग माग गरेकाे छ ।