सिरहा | सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु प्रकरणमा संलग्न आठ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म आठ जना पक्राउ परिसकेका छन् भने चार जना अझै फरार छन् । पक्राउ परेका अभियुक्तहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् ।
पक्राउ परेकामध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वरविरुद्ध जाहेरी दर्ता गरिएको थियो । बाँकी चारजनाको नाम जाहेरीमा नभए पनि उनीहरूको पञ्चायतीमा संलग्नता पुष्टि भएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक (प्रनाउ) वीरेन्द्रकुमार पासवानले बताए ।

घटनाका मुख्य अभियुक्त रुपेश मण्डल फागुन २१ गते पक्राउ परेका थिए भने चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासलाई फागुन ११ मै पक्राउ गरिएको थियो । अन्य चारजनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । फरार रहेका अन्य चार अभियुक्तको पहिचान प्रहरीले गरिसकेको र उनीहरूलाई चाँडै नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।
प्रहरी नायब उपरीक्षक पासवानका अनुसार पक्राउ परेकाहरूमाथि सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजी तथा प्रमाण संकलनको कार्य भइरहेको छ ।
रिंकुकुमारी सदाको सामूहिक बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ । घटना सामसुम पार्न पञ्चायती बोलाएर मिलापत्र गराउने प्रयास भएको आरोप छ । घटनाले स्थानीय स्तरमा चर्को विरोध र आक्रोश उत्पन्न गराएको छ । पीडित पक्षले न्यायको माग गर्दै प्रदर्शन समेत गर्दै आएको छ ।