पर्साको जगरनाथपुर गाउँपालिकामा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८१ भव्य रूपमा सुरू भएको छ ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उपमेयर इमतियाज आलमले पानसमा बत्ती बालेर गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलमले खेलकुद व्यक्तिको स्वास्थ्य, आत्मविकास र देशको पहिचानसँग जोडिएको बताए । "खेलकुदले शरीरलाई स्वस्थ राख्छ र समाजमा अनुशासन पनि सिकाउँछ । खेलकुद स्वास्थ्यको लागि औषधि सरह हो," उनले भने। साथै, विद्यार्थीहरूलाई आफ्नो प्रतिभा देखाउँदै उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्दै हार-जीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
प्रतियोगितामा गाउँपालिकाका १६ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन् । विद्यार्थीहरूले आफ्ना विद्यालयका झन्डासहित मार्चपास प्रस्तुत गरेका थिए । कार्यक्रममा छात्राहरूले सांस्कृतिक नृत्य समेत प्रदर्शन गरेका थिए ।
खेलकुद प्रतियोगिताको उद्घाटन समारोह जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा विशिष्ट अतिथि उपाध्यक्ष बबिता सिंह, प्रमुख प्रशासनिक अधिकृत सन्देश यादव, लेखापाल सन्देश कुशवाहा, बिहारी महतो नुनिया, लक्ष्मी साह, नेपाली कुशवाहा, प्रभु महतो, शिक्षा शाखा प्रमुख अशोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, ईन्जिनियर सादाम हुसेन, क्षेत्रीय सचिव बलिष्टर अहमद, गाउँपालिकाका विभिन्न वडाका सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हाई जम्प, लङ जम्प, दौड लगायतका विभिन्न खेल समावेश छन्। आयोजकका अनुसार प्रतियोगिता भोलिसम्म जारी रहने छ ।
गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने बताए । "बालबालिकालाई खेलकुदमा आकर्षित गर्दै उनीहरूको सर्वाङ्गीण विकास गर्न यस्तो प्रतियोगिता आवश्यक छ," उनले भने ।