विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो पटक वीरगंज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।
शनिबार आदर्शनगर रंगशालामा सम्पन्न दोस्रो संस्करणको फाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ३–० गोलअन्तरले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । विजेता बनेको नेपाल पुलिस क्लबले ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख ५५ हजार ५५५ रुपैयाँ मै चित बुझायो ।

खेलको सुरुवातमा हावी देखिएको मच्छिन्द्रले पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा कमजोर देखियो । खेलको १२औँ मिनेटमा मच्छिन्द्रका खेलाडी समिरराज थोकरले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
यद्यपि, ५८औँ मिनेटमा पुलिसका विकाश विकले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक मोडमा लगेका थिए । टाइब्रेकरमा पुलिसका कप्तान रामचन्द्र वाजी, संजीव लामा र गोलकिपर अमित टामाटाले सफलतापूर्वक गोल गरे । उज्जवल राइले हानेको बल भने पोष्टभन्दा बाहिर गयो । मच्छिन्द्रका विशाल तामाङ र दिवाकर चौधरीले हानेको बल पोष्ट बाहिर जाँदा समिरराज थोकरको प्रहार पुलिसका गोलकिपरले रोकेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा कप्तान रामचन्द्र वाजी घोषित भए । उनले विद्युतीय स्कुटर पुरस्कार पाए । यस्तै उत्कृष्ट गोलकिपरमा पुलिसका अमित टामाटा घोषित भएसंगै उनले २० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै त्यस्तै, उत्कृष्ट प्रशिक्षकमा पुलिस कै चेतन घिमिरे चयन भए । उनले समेत २० हजार रुपैयाँ हात पारे ।

फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका समिरराज थोकर भएका थिए मेडल संगै उनले १० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
मधेश प्रदेशकै सर्वाधिक धनराशिको प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड खर्च भएको आयोजकले जनाएको छ । मुख्य प्रायोजकको रूपमा वीरगंज महानगरपालिका रहेको थियो ।

प्रतियोगिताकै लागी दुई हजारभन्दा धेरै दर्शक अट्ने गरी अस्थायी प्यारापिट निर्माण गरिएको थियो ।
