सर्लाही जिल्लाका दुई प्रमुख चिनी उद्योगले यस वर्षको उखु क्रसिङ बन्द गरेका छन् भने अर्को एक उद्योग पनि बन्द हुने चरणमा पुगेको छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकोलले चालु सिजनका लागि उखु क्रसिङ बन्द गरेका हुन् । शनिबार बिहानबाट बन्द भएको अन्नपूर्ण चिनी उद्योगले कुल नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले बताए ।
यस्तै, महालक्ष्मी चिनी उद्योगले फागुन २१ गतेदेखि नै क्रसिङ बन्द गरेको प्रशासकीय प्रबन्धक शिवशङ्कर कुशवाहाले जनाए । उनका अनुसार महालक्ष्मीले यस वर्ष १३ लाख ८० हजार १०४ क्विन्टल उखु क्रसिङ गरेको छ । दुवै उद्योगले किसानलाई चैत तेस्रो साताभित्र सम्पूर्ण भुक्तानी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माघसम्मको भुक्तानी दिइसकेको दाबी गर्दै दुवै उद्योगले बाँकी रकम समयमै उपलब्ध गराउने आश्वासन दिएका छन् ।
इन्दुशङ्कर चिनी उद्योग पनि बन्द हुने तयारीमा
हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले फागुन २७ गतेसम्म उखु क्रसिङ गरी उद्योग बन्द गर्ने जनाएको छ ।
उद्योगका उखु प्रबन्धक योगनारायण रजकका अनुसार हाल उद्योग ‘नो केन’ अवस्थामा सञ्चालन भइरहेको छ । उनका अनुसार उद्योगले हालसम्म २९ लाख ३१ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ भने उद्योग बन्द हुने बेलासम्म यो संख्या ३० लाख क्विन्टल पुग्ने अनुमान गरिएको छ ।

एभरेस्ट चिनी मिलमा उखु अभाव
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलमा आवश्यक मात्रामा उखु आपूर्ति नहुँदा मिल पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
महाप्रबन्धक सुरेन्द्र शुक्लाका अनुसार मिल सञ्चालन गर्न दैनिक ४५ हजार क्विन्टल उखु आवश्यक पर्छ, तर अहिले दैनिक १५ हजार क्विन्टल मात्र उखु प्राप्त भइरहेको छ । कम्पनीका अर्का महाप्रबन्धक विनोद यादवका अनुसार मिल सञ्चालन भएको ९० दिन पुगिसकेको छ तर पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा २३ दिन ‘लो क्रसिङ’ र १३५ घण्टा ‘नो केन’ अवस्थाका कारण चिनी उत्पादन प्रभावित भएको छ ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार सरकारले किसानलाई दिने भनिएको प्रतिक्विन्टल ७० रुपियाँ अनिश्चित छ । साथै, महोत्तरीका उखु कृषक सङ्घ अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले निर्धारण गरेको न्यूनतम मूल्य प्रति क्विन्टल ५६० रुपियाँ किसानलाई अपुग भएको बताए । किसानहरूले न्यूनतम ७५० रुपियाँ मूल्य माग गरिरहेका छन् ।
उखुको मूल्यमा असन्तुष्टि जनाउँदै किसानहरूले उखु खेतीप्रति मोहभङ्ग हुँदै गएका छन्, जसको असर चिनी उद्योगको उत्पादनमा प्रत्यक्ष परेको देखिन्छ ।