रौतहटको श्री बागमती माध्यमिक विद्यालय, गोपालकुटी, चन्द्रपुर-१ मा जिल्ला स्तरीय विशेष विद्यालय रनिङ शिल्ड प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
अपाङ्गता भएका विद्यार्थीहरूको शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको अध्यक्षता यमबहादुर खडिवालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी उपस्थित थिइन् । प्रतियोगिताको आयोजना छाया नेपालको आर्थिक सहयोगमा गरिएको हो । रौतहटमा यस प्रकारको प्रतियोगिता पहिलो पटक सम्पन्न भएको हो ।
प्रतियोगितामा रौतहट जिल्लाका चार विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए । सहभागी विद्यालयहरूमा परोहा नगरपालिकाको छाया अपाङ्गता आवासीय विद्यालय, श्री आशा काशी बहिरा तथा सुस्त श्रवण आवासीय आधारभूत विद्यालय (राजदेवी नगरपालिका-४, बसतपुर), श्री आधारभूत विद्यालय बाल मन्दिर (गौर नगरपालिका-५), तथा जनज्योति नमुना माध्यमिक विद्यालय (चन्द्रनिगाहपुर) थिए। यी विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लिएका थिए ।

ब्याडमिन्टन, दौड, चम्चा दौड, रिले रेस, म्युजिक चेयर, लौङ जम्प तथा घैटो रेस जस्ता खेलहरू प्रतियोगितामा समावेश गरिएका थिए । छाया नेपालले अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने उद्देश्यले यस्ता प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।
प्रतियोगिता परिणामहरू
महिला छात्रा (आधारभूत)
-
प्रथम: समृधी चौधरी (जनज्योति)
-
दोस्रो: सहिना खातुन (बाल मन्दिर)
-
तृतीय: करिमा खातुन (राजदेवी)
महिला छात्रा (माध्यमिक)
पुरुष छात्र (आधारभूत)
-
प्रथम: शेख सदरे आलम (बाल मन्दिर)
-
दोस्रो: अरमान हुसेन (राजदेवी)
-
तृतीय: रोहित साह (जनज्योति)
पुरुष छात्र (माध्यमिक)

कार्यक्रममा छाया नेपालका मधेस प्रदेश कन्सल्ट्यान्ट सजिना खडिवडा, प्रोग्राम हेड राम महर्जन, वरिष्ठ कार्यकारी सहायक प्रियंका ठाकुर, वडा अध्यक्ष बलिराम राउत लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । त्यस्तै, बागमती माध्यमिक विद्यालयका रणबहादुर कार्की, जिवराज नेपाल, छाया अपाङ्गता आवासीय विद्यालयका जान्की घिमिरे, रिन्कु कुमारी तथा अन्य विद्यालयका शिक्षक-शिक्षिकाहरू पनि कार्यक्रममा सहभागी थिए ।
यस प्रतियोगिताले अपाङ्गता भएका विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउँदै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा मानसिक स्वास्थ्यमा सुधार ल्याउने लक्ष्य लिएको छ । आयोजक राजेश साहका अनुसार, यस्ता प्रतियोगिताहरू अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा समान अवसर प्रदान गर्न तथा सम्मानजनक स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
भिडियाे