पूर्व कृषि मन्त्री तथा बारा क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी साहले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होली आपसी भाइचारा कायम गर्दै सद्भावपूर्ण तरिकाले मनाउन आग्रह गरेकी छिन् ।
पचरौता नगरपालिकाको कार्यालयले आइतबार वडा नम्बर ८ लङ्गडा चोकमा आयोजना गरेको होली मिलन कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री साहले होलीलाई एकताको प्रतीकका रूपमा स्वीकार्दै सबैलाई शान्तिपूर्ण तरिकाले उल्लासपूर्वक मनाउन अनुरोध गरिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले होलीलाई दुर्घटनारहित, विवादरहित, ग्याङ्ग फाइटरहित र झगडारहित बनाउन सम्पूर्ण नगरवासीलाई सचेत रहन आग्रह गरे । उनले होली पर्वका दिन सवारीसाधन मोटरसाइकल चलाउँदा हेल्मेट अनिवार्य लगाउन, तीन जना चढेर यात्रा नगर्न तथा सवारी कागजात नभएकाहरूलाई जनप्रतिनिधिहरूले अनुरोध गरे पनि प्रहरीले कारबाही गर्ने जानकारी दिए । उनले कुनै पनि असामाजिक गतिविधि हुन नदिन प्रशासन सतर्क रहेको बताए ।
पचरौता नगरपालिकाका नगर प्रमुख जलान्धर सिंह जैसवारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संविधान सभा सदस्य बलवीर प्रसाद चौधरी, नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेय, पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुन, गौरी साह, बसन्तराज जोशी, कार्यपालिका सदस्यहरू, वडा अध्यक्ष तथा वडा सदस्यहरूको उपस्थित रहेको थियो। साथै, स्थानीय जनप्रतिनिधिहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र परियारले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजिकरण लक्ष्मी यादवले गरेका थिए ।