पर्साको वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा मिटर ब्याज पीडितले न्याय नपाएको भन्दै विष सेवन गरेर, पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
कार्यालय परिसरमै विष सेवन गर्दै पेट्रोल छर्किन लाग्दा प्रहरीले उनलाई तत्कालै उद्धार गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । आत्महत्याको प्रयास गर्ने व्यक्ति बाराको पचरौता नगरपालिका घर भई हाल वीरगंज महानगरपालिका(२४ रामघरवामा बस्दै आएका २४ वर्षीय ब्रिजकिशोर प्रसाद साह रहेका छन् । उनले न्याय माग्दै पटक–पटक सरकारी निकायमा निवेदन दिए पनि सुनुवाइ नभएको भन्दै आत्मदाहको प्रयास गरेको बताइएको छ ।
पीडित साहका अनुसार, बहुदरमाई नगरपालिका डकैलाका मोहन साह तेली, पचरौता नगरपालिका बाराका धर्मेन्द्र साह कलवार, र देवेन्द्र यादवले उनलाई मानसिक यातना दिँदै लाखौँ रुपैयाँको मिटर ब्याज असुल गरेको आरोप लगाएका छन् । साहले बताएअनुसार, एक लाखको रकमको ऋण लिदा ब्याज थपिँदै गएपछि एक करोड बराबरको सम्पत्ति लिलाम गराएको आरोप छ ।
आईतबार मात्र पीडित मिटर ब्याजीहरू न्याय दिलाउन र जपत गरिएको सम्पत्ति फिर्ता गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएका थिए । तर, सोमबार कार्यालय परिसर मै ब्रिजकिशोर प्रसाद साह आत्महत्याको प्रयास गरेका छन् ।
घटनापछि प्रमुख जिल्ला अधिकारी अर्यालले पीडित साहको उद्धार गरी आफ्नै गाडीमार्फत नारायणी अस्पताल पुर्याएको बताए । हाल उनको अस्पतालमा उपचार भइरहेको छ । पीडितको गम्भीर आरोपलाई मध्यनजर गर्दै विपक्षीलाई झिकाएर अनुसन्धान गर्न आदेश दिएको प्रजिअ अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालयले मिटर ब्याजसँग सम्बन्धित उजुरीलाई गम्भीरतापूर्वक लिँदै कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, पर्सा प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरूमाथि छानबिन सुरु गरेको छ।