संघीय खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा हरेक स्थानमा खानेपानीको सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।
मन्त्री यादवले क्याम्पस परिसरमा धारा जडान तथा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । समाजवादी विद्यार्थी युनियनद्वारा वीरगञ्जमा आयोजित होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले समाजवादी विद्यार्थी युनियनमा आबद्ध हुने तथा भइसकेकाहरूको निःशुल्क स्वास्थ्य बीमा गराइने समेत घोषणा गरेका छन् ।
मन्त्री यादवले ठाकुरराम क्याम्पसको अवस्थाबारे टिप्पणी गर्दै जिर्ण होस्टल, कक्षा कोठा, तथा अन्य भौतिक संरचना मर्मत तथा पुनर्निर्माणको आवश्यकता रहेको बताए । "यो क्षेत्रकै प्रतिनिधि मन्त्री भएकाले क्याम्पसको भौतिक सुधारको लागि यसै आर्थिक वर्षमा सकेसम्म धेरै बजेट ल्याउनेछु ।"
मन्त्री यादवले आर्थिक रूपमा विपन्न तथा असहाय विद्यार्थीहरूका लागि विशेष कोष स्थापना गरिने, निःशुल्क शुल्क तिर्ने व्यवस्था मिलाइने, तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरे । मन्त्री यादवले विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने उद्देश्यले वर्षमा तीनपटक परीक्षा सञ्चालन गराउने व्यवस्था गराउने बताए । मन्त्री यादवले समाजवादी विद्यार्थी संघले विद्यार्थीहरूको समस्यालाई समाधान गर्न सधैं अगाडि रहने प्रतिज्ञा गरेका थिए ।
समाजवादी विद्यार्थी युनियन, पर्साका अध्यक्ष हरिन्द्र साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनलाल चौधरी, पूर्व प्रदेशसभा सदस्यहरू जन्नत अंसारी र भीमा यादव, जसपाका केन्द्रीय सदस्य जनार्दन यादव, संघीय परिषद सदस्यहरू तबरेज अहमद, मुकेश द्विवेदी, आमिर आलम, जसपा जिल्ला अध्यक्ष सिंघासन साह तेली, समाजवादी युवा संघका महासचिव सरोज यादव, समाजवादी विद्यार्थी युनियनका महासचिव निखिल बर्णवाल, जसपा नगर अध्यक्ष इश्वर यादव, संघीय शिक्षक फोरमका जिल्ला अध्यक्ष हरेन्द्र चौरसिया लगायतको उपस्थिति रहेको थियो ।